सहकारी समितिको प्रतिवेदनले भन्यो– गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे

Image

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदनले गोर्खा मिडियामा रवि लामिछानेले नै कारोबार गर्ने गरेको निष्कर्ष निकालेको छ ।

समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोबारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी रविले बयान दिएका थिए । तर, आर्थिक कारोबार हेर्दा रवि नै कारोबारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो ।

‘गोर्खा मिडिया नेटवर्क प्रा. लि. का तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाले समितिसमक्ष भएको सोधपुछमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

समितिले १६ वटा कारोबारका विवरणहरु नै प्रतिवेदनमा समावेश गरेको छ, जसमा कुल २३ करोड ७९ लाखको कारोबार भएको देखिन्छ ।