संयुक्त राष्ट्रसंघका एक अधिकारीले मध्यपूर्वमा जारी द्वन्द्वले अहिलेसम्मकै ठूलो विनाश हुनसक्ने चेतावनी दिएका छन्। राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख रोजमेरी डिकार्लोले सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा हिजबुल्लाहले बोकेका पेजर र वाकी-टकी विस्फोट घटनालाई उल्लेख गर्दै उक्त धारणा राखेकी हुन्।
यस्तै संयुक्त राष्ट्रसंघ मानव अधिकार प्रमुख भोल्कर टर्कले इजरायललाई लागिरहेको व्यापक आक्रमणको आरोप युद्ध अपराध हुनसक्ने बताए। उनले भने, “इजरायली संयुक्त राष्ट्रका दूत ड्यानी ड्याननले बम विस्फोट उल्लेख गरेनन्, तर आफ्नो देशले आफ्नो रक्षाका लागि जे पनि गर्न आवश्यक छ भनेका छन्।”
लेबनानमा हिजबुल्लाहका पेजर र वाकी-टकी विस्फोटपछि मध्यपूर्वमा उत्पन्न संकटबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बसेको छ। जहाँ संयुक्त राष्ट्रसंघ मानव अधिकार प्रमुख भोल्कर टर्कले भने, ‘सञ्चार उपकरण विस्फोट गराएर लेबनानका जनतालाई निशाना बनाउनु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो।’
हिजबुल्लाहले आफ्ना वरिष्ठ सैन्य कमान्डर इब्राहिम अकिल शुक्रबार बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएको स्वीकार गरेको छ। यसअघि इजरायलले हिजबुल्लाहका धेरै वरिष्ठ अधिकारीसँगै उनी पनि मारिएको बताएको थियो।
यस हमलाका सम्बन्धमा लेबनानी अधिकारीहरूले भने, ‘इरान समर्थित समूहको गढ मानिने दहेह क्षेत्रको घना जनसंख्या भएको स्थानमा भएको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ।’ बेरुतमा शुक्रबार इजरायली हमला जुलाईयताको पहिलो आक्रमण हो। पछिल्लो आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्र मारिएका थिए।