सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
प्रहरीले जोशीमाथि अनुसन्धानका लागि म्याद थप गर्नका लागि अदालतमा लगेको हो । जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरि साँझ पोखरा लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर कास्की लगेको हो ।
जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको थियो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।
गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो । सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।