काठमाडौं उपत्यकाका नदी तथा खोलाहरुमा बढ्यो पानीको सतह, रात्रिकालीन यात्रा नगर्न आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीहरुमा पानीको सतह बढेको छ । कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको छ ।

खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार अझै पानी पर्ने भएकाले नदीको सतह अझ बढ्ने सम्भावना छ । नदी किनारका कोरिडोर सडकहरुमा जोखिम बढेपछि प्रहरीले रात्रिकालीन समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। विभिन्न राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध बनेका छन् भने रात्रिकालिन सवारी पनि चलाउन रोक लगाइएको छ।