बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकामा मात्रै दुई हजारभन्दा बढी घर डुबानमा परेका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार शनिबार काठमाडौँमा एक हजार ३२४, ललितपुरमा ५०० र भक्तपुरमा ४१७ गरी उपत्यकामा दुई हजार २४१ घर डुबानमा परेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको पनि एसएसपी घिमिरेले जानकारी दिए । उनका अनुसार हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए ।
विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढी–पहिरो तथा डुबानमा परेका १ हजार तीन सय १५ जनाको उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाट काठमाडौँमा ४ घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।
यस्तै विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँ ३ हजार ६०, ललितपुरमा १ हजार १ सय र भक्तपुरमा ३ सय ५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।