झ्याप्ले खोलामा पुरिएको अर्को बसबाट निकालियो तीनवटा शव

Image

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा पुरिएको अर्को बसबाट तीनवटा शव निकालिएको छ ।

आइतबार बिहान करिब १० बजे शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए ।

उक्त शव बस भित्रैबाट निकालिएको भनिएको छ । तथापि शवको पहिचान खुलेको छैन ।

पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।

सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोली उद्धारमा खटिएको छ ।

यसअघि शनिबार नै झ्याप्ले खोलामा एउटा बस र विंगर जिप पुरिएका थिए । पुरिएको गाडीबाट १४ जनाको शव निकालिएको थियो ।