दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पहिरोले पुरिएका चार जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
शनिबार गेटहरु कन्ट्रोल गर्नका लागि बनाइएको दुई तले भवन माथिबाट खसेको पहिरोले भत्किँदा चार जना पुरिएका थिए । पहिरोले विद्युत् सञ्चालन केन्द्र पुरिँदा त्यहाँ सुरक्षार्थ खटिएको गरुड दल गणका सैनिक नरेन्द्रबहादुर पाल र शंकर चन्दसहित विद्युत् केन्द्रमा कार्यरत नवलपरासीको प्रतापपुरका कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१ स्यालुका ३० वर्षीय जयराम तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनीहरूको खाजी आइतबार बिहानदेखि सुरु गरेको प्रहरीले जनाएको छ । पहिरोले आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्कमा) पनि क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरेर बाँधका सम्पूर्ण ढोका (गेट) हरु खुल्ला गरिएको थियो ।