जलसतह घटेपछि बन्द गरियो कुलेखानी बाँधको ढोका

Image

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ ।

जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका निम्ति शनिबार बिहान आयोजनाका दुई ढोका खोलिएको थियो । र, पानी बाहिर निकालिएको थियो ।

बाँध खोलेर जलाशयको पानीलाई निकास दिएपछि जलसतह केही घटेकाले आइतबार ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार, कुलेखानीको जलाशयमा कुल एक हजार ५३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता छ । शनिबार एक हजार ५३१ मिलिमिटर पानी भरिएर खतराको संकेत देखिएपछि दुई ढोका खोलिएको थियो ।

शनिबार साँझदेखि वर्षा रोकिएको र ढोका खोलेर पानी बाहिर निकालिएकाले जलाशयमा जलसतह घटेको प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार, हाल जलविद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ ।