काठमाडौं । ओपनर कुशल भुर्तेलले ओडिआईमा पहिलो शतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा सोमबार नामिबियामाथि शानदार जित हासिल गरेको छ । भुर्तेललको ११५ रन मद्दतमा नेपालले ओडिआईमा कीर्तिमानी लक्ष्य पूरा गर्दै खेल जितेको हो ।
लिग टु क्रिकेटमा पनि नेपालकी खेलाडीको यो पहिलो शतक हो र नामिबियालाई लिग टु मा नेपालले हराएको पनि यो पहिलो पटक हो । नेपालले २८६ रनको लक्ष्य ४७।४ ओभरमा ८ विकेट गुमाएर २८७ रन बनाउँदै पूरा गर्दै जित निकालेको हो ।
नेपाललाई जितका लागि ३ रन मात्र आवश्यक हुँदा भुर्तेल आउट भए । उनले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । सोमपाल कामीले विजयी चौका प्रहार गरे । नेपालले ओडिआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर समेत हो ।
रोहितले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनले नामिबिया विरुद्ध ५५ रन जोडेपछि नेपालका लागि ओडिआईमा एक हजार रन पूरा गरेका थिए । त्यसपछि कुशल मल्ल ६ र दीपेन्द्र सिंह ऐरि ७ रनमा आउट हुँदा नेपालको स्कोर २१२(५ थियो । रुबेन ट्रम्पलमेनले रोहित, कुशल मल्ल र दीपेन्द्रलाई लगातार आउट गरेपछि नामिबियाले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो । तर चार वर्षपछि पहिलो पटक ओडिआई खेलेका सन्दिप जोरासँग भुर्तेलले ४९ रनको महत्वपूर्ण झारेदारी गरे । जोराले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे । जोरा आउट भएपछि क्रिजमा आएका करण केसीले ब्याटिङमा पनि छक्का चौका प्रहार गरे । त्यसअघि करणले ५ विकेट लिएका थिए । तर नेपाललाई जितका लागि ३ रन आवश्यक हुँदा भुर्तेल आउट भए । लगत्तै आएका सन्दीप लामिछानले डक आउट भए ।
त्यसपछि आएका सोमपाल कामीले चौका प्रहार गर्दै नेपालको जित पक्का गरे । करण केसीले १२ बल खेल्दै १ चौका र २ द्छक्का मद्दतमा अविजित २० रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी एटोनले ३-३ विकेट लिए । बर्नानर्ड स्कोल्ट्ज र तांगेनी लुंगामेनीले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो । जहाँ भान लिगेनले १३३ रन बनाएपछि नामिबियाले ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको हो । कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे । लिग टु अन्तर्गत पछिल्लो पटक डिसेम्बरमा नामिबियामै भएको खेलमा पनि भान लिगेनले शतक र एरासमसले अर्धशतक प्रहार गरेका थिए ।
बलिङतर्फ नेपालका लागि भ्यालेन्टाइन ब्वाए करण केसीले ५ विकेट लिए । ११औं ओभरभित्रै दुवै ओपनर आउट हुँदा ४५/२ को अवस्थामा रहेको नामिबियाको इनिङ्स उनै भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले सम्हालेका थिए । यी दुईले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे । त्यसअघि लो हान्ड्रे लाउरेन्स ५ र कार्ल बिर्केन्स्टोक१३ रन बनाएर आउट भए । भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्का मद्दतमा १३३ रन बनाए । भान लिगेनले ओडिआईमा तेस्रो शतक हो भने नेपाल विरुद्ध उनले लिग टु मा लगातार दोस्रो शतक प्रहार गरेका हुन् ।