बाह्रसिंगे बियरको गोदाममा छापा, म्याद सकिएका २ हजारभन्दा बढी कार्टुन बरामद

भोजभतेर र रात्रिकालीन रेष्टुरेण्टमा प्रयोग

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ हजार १०० कार्टुन बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको छ । बजार अनुगमन टोलीले बजार निरीक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य मिति सकिएका बाह्रसिङ्गे बियर नियन्त्रणमा लिएको हो । काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङको ३ वटा गोदाममा भण्डार गरिरहेको अवस्थामा बरामद भएको विभागले जनाएको छ ।

याक ब्रुअरी कम्पनीले उत्पादन गरेको उक्त बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको विभागले जनाएको छ । निरीक्षण टोलीले आवश्यक कारवाहीका लागि गोदाम सिलवन्दी गरेको छ । मिति सकिएका ६५० मिलि लिटर र ३३० मिलि लिटरका बोत्तलमा रहेका छन् । उक्त बियर बजारमा पठाउनका लागि राखिएको थियो ।

भोजभतेर तथा रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा यस किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियर लगायत अन्य हल्का पेयपदार्थको कारोबार हुने गरेको विभागले जनाएको छ । त्यसैको आधारमा कारोबारस्थल र आपूर्तिकर्ता डिलरहरूको बिक्री तथा गोदामकक्षको निरीक्षणलाई विभागले विशेष महत्वका साथ अगाडि बढाइरहेको  छ । त्यस्ता कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्री वितरण तथा उपभोग तर्फ विशेष चनाखो रहन र त्यसरी बिक्री वितरण गरिएको थाहा भए जानकारी गराउन विभागले अनुरोध गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार