विश्वकप लिग-२ : नामिबियाविरुद्ध स्कटल्याण्डको फराकिलो जित

काठमाडौं । ओपनर जर्ज मुन्सेको सानदार शतकमा आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा बुधबार मुन्सेको शतकसँगै स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । स्कटल्याण्डको जितमा मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ३ रनको शतकीय ईनिङ खेले ।यस्तै केली कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३९।२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको थियो । नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट हुँदा बेर्नाड स्कोल्टेजले ३० रन बनाए ।

जान ग्रिनले २५ रन बनाउँदा प्रिन्कि फ्रान्सले ११ रन बनाए । कप्तान ग्रेहार्ड इरास्मस र जान निकोल शुन्य रनमा आउट भए । स्कटल्याण्डका लागि मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३र३ विकेट लिए ।

नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।

सात टोली सहभागी विश्वकप लिग टू मा जितसँगै स्कटल्याण्ड ३३ खेलमा ४८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्डले जारी विश्वकप लिग टूको शीर्ष स्थान पक्का गरेको छ ।

सम्बन्धित समाचार