काठमाडौं : युक्रेनले राजधानी किभको आकाशमा देखिएका ६ वटा रसियन बेलुन लडाकु जहाज प्रयोग गरी खसालेको छ।
युक्रेनको सैन्य गतिविधि निगरानी गर्ने उपकरण जडित बेलुनहरु खसालिएको युक्रेनी अधिकारीहरुले जनाएका छन्। युक्रेनी सैनिकले रुसी बेलुनहरु हावाको बहाबसँगै किभको आकाशमा आइपुगेको जनाएको छ।
ती बेलुनहरु युक्रेनको सैन्य गतिविधि र एयरफोर्सको गतिविधिबारे निगरानी गरी रुसमा सूचना पठाउने प्रयोजनका लागि परिचालित भएको युक्रेनी सैनिकको दाबी छ।
यसैबीच युक्रेनको डोनेत्स्कस्थित पोक्रोभ्स्क सहरमा रुसले गरेको मिसाइल आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ। आक्रमणमा ११ जना घाइते भएका छन्। मिसाइल आक्रमणमा कम्तीमा ४ वटा आवसीय भवन र एउटा विद्यालय ध्वस्त भएका छन्।