ललितपुरमा बाढीपहिरोमा बेपत्ता थप ६ जनाको शव भेटियो, मृतकको संख्या ४० पुग्यो

Image

ललितपुरमा बाढीपहिरोमा परी बेपत्ता थप ६ जनाको शव फेला परेको छ ।

ललितपुर प्रहरीले मंगलबार बिहान दिएको जानकारी अनुसार बाढी तथा पहिरोमा परी हराएका थप ६ जना मानिसका शव फेला परेका हुन् । जसमा एकै परिवारका चार जनासमेत छन् ।

बिहीबार रातिदेखि शनिबारसाँझसम्म परेको अविरल वर्षाले बाढीपहिरो र डुबानमा परेर ललितपुरमा ४० जनाले ज्यान गुमाउएका हुन् । घटनामा १० जना बेपत्ता भएका छन् ।

बाढी पहिरोमा परेर हराएकाहरूमध्ये मंगलबार बिहान ८ बजे ६ जनाको शव फेलापरेसँगै मृत्यु हुनेको संख्या ४० पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार बिहान ८ बजेसम्म ललितपुरको महांकाल गाउँपालिका-२, ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, उनका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्को छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष ९ कि सलिना स्याङ्तानका शव भेटिएका हुन् ।

यसैगरी ललितपुरको महांकाल गाउँपालिका-२, लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान र ललितपुर महांकाल गाउँपालिका(३, गोटीखेल बस्ने ईश्वर तिमल्सिनाको पनि शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रौतहट घर भई ललितपुरको ललितपुर महानगरपालिका-१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ५ का सेतु साह, ओखलढुंगा घर भई ललितपुर बस्ने वर्ष ४० का देवराज कार्की, रौतहट गौर गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ३२ को बिकाउ साह, ललितपुर महा‌काल गाउँपालिका-३ गोटीखेल बस्ने एकै परिवारका उमेर नखुलेका ईश्वर तिमल्सिना, उनकी आमा हाल नाम नखुलेको र उनैका श्रीमती हाल उमेर नखुलेको गोमा तिमल्सिना, ललितपुरको गोदावरी नगरपालिका-६, आनन्दवन अस्पतालमा काम गरी बस्ने वर्ष ३० को विवेक सिंह, बागमती गाउँपालिका-१ घुसेल बस्ने वर्ष ५० का केशव न्यौपाने (आफन्तले बताए अनुसार पहिला मृतकमा राखिएकामा हालसम्म शव प्राप्त हुन नसकेकाले सच्याई हाल बेपत्तामा राखिएको), ललितपुरको महांकाल गाउँपालिका-२ बस्ने वर्ष १२ की सञ्जिता स्याङ्तान, ललितपुरको महांकाल गाउँपालिका-२ बस्ने वर्ष ३५ का छविलाल स्याङ्तान र ललितपुरको महांकाल गाउँपालिका(२ बस्ने छविलाल स्याङ्तानको भाउजु नाम नखुलेको गरी १० जना बेपत्ता छन् ।

घटनाका घाइते १५ मध्ये रौतहट घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका-१४ बस्ने वर्ष ६ की मेघना साह, ललितपुरकै गोदावारी नगरपालिका-७ बस्ने वर्ष ३४ की ठूलीमाया रुम्बा र काठमाडौँ महानगरपालिका-३१ घर भई हाल बागमती गाउँपालिका-४ प्युटार बस्ने वर्ष ४५ का भूषण अर्याल उपचाररत छन् ।