काठमाडाैँ – सातदोबाटो युथ क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा बिजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहीबार नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।
सातदोबाटोको जितमा दीपक राज सिंह ठकुरीले दुई गोल गरे । पुलिसका प्रविन थापाले एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा दिपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४९ औं मिनेटमा प्रविनले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा दिपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए ।
अब सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ । आर्मी र एनआरटीबीचको खेल शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । यस्तै शुक्रबार दिउँसो मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । आयोजक राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।