काठमाडौं – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरलाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । शीर्षक्रमका ब्याटर आकाश त्रिपाठी र अलराउन्डर विशाल विक्रम केसीको उत्कृष्ट ब्याटिङमा नेपाले बलियो योगफल तयार पारेको हो ।
युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनायो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । विशालले ४५ बलमा अर्धशतक पूरा गरेका थिए ।
शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित ७८ रनमा बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । दोस्रो विकेटका लागि अर्जुन कुमाल र आकाशले ९३ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । अर्जुन कुमाल ६७ बलमा ३ चौकासहित ३७ रन जोड्दै बोल्ड आउट भए । कप्तान देव खनाल पनि २६ बलमा १ चौकासहित २१ रनमा आउट भए ।
डेब्यू खेल खेलेका दीपक बोहराले १५ बलमा २ चौकासहित १७ रनमा बोल्ड हुन पुगे । ओपनर दीपक बोहरा ५ रनमा आउट हुन पुगेका थिए ।
विकेटकिपर दीपक डुम्रे १० र मिलन बोहरा ४ रनमा आउट भए । सुवास भण्डारी ८ बलमा १ चौकासहित १२ रनमा अविजित रहे । नेपाली यू–१९ टोलीमा ७ खेलाडीले डेब्यू गरेका छन् । दीपक बोहरा, आकाश त्रिपाठी, सुवास भण्डारी, हेमन्त धामी, दीपक डुम्रे, दीपक बोहरा र मिलन बोहराले पहिलो पटक नेपाली यू–१९ टोलीबाट खेलेका हुन् ।
सिंगापुरका आर्यविर चौधरीले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । अभ्युदय छाजेरले ९ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । आदित्य भार्गव र महियु भाटियाले एक एक विकेट लिए