नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष अर्जुन शर्मा पौडेल र सञ्चालक विष्णु खेतान अग्रवाललाई सञ्चालक समितिबाट हटाउन निर्देशन दिएको छ । पौडेल र अग्रवाल कम्पनीमा सञ्चालकको रूपमा २ कार्यकाल पुरा भएपनि मर्जरमा जाने भएपछि दुवै जनालाई सञ्चालकमा पुनःनियुक्ति गर्न प्राधिकरणले अनुमति दिएको थियो । तर, मर्जरमा नजाने अवस्था भएपछि कम्पनीको सञ्चालक समितिलाई पत्राचार गर्दै पौडेल र अग्रवाललाई सञ्चालकबाट हटाउन निर्देशन दिएको हो ।
अध्यक्ष पौडेल र सञ्चालक अग्रवाललाई हटाएसँगै बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सका अर्का सञ्चालक चन्द्रसिंह साउदलाई पनि निगरानीमा राखेको छ । यसअघि नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स कम्पनी मर्जरमा तयारी समेत रहेको थियो । तर, नेपाल इन्स्योरेन्सका तीन सञ्चालकका कारण सो नै मर्जर भाँडिएको कम्पनीको आरोप समेत छ । मर्जरको बाधक बनेपछि प्राधिकरणले बर्खास्त गरेको बताइएको छ ।