डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रम बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनका लागि मन्त्रालय र नेपाल प्रहरीबीच नीतिगत मात्र नभएर प्रत्यक्ष सहकार्यको शुभारम्भ भएको उल्लेख गरे ।
आगामी दिनमा ट्राफिक प्रहरीको काम-कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनले बताए ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताए ।
समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उनले उल्लेख गरे ।













