सरकारले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित ठाउँहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । गत शुक्रबार र शनिबार (असोज ११ र १२ गते) को अविरल वर्षाले देशको विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेको छ ।
२ सय २९ जनाको मृत्यु भएको छ । कयौं अझै बेपत्ता छन् । सयौं परिवार घरबारविहीन हुन पुगेका छन् । बाढी र पहिरोले बढी प्रभावित क्षेत्रमा तीव्र गतिमा राहत, उद्दार तथा पुनर्निमाणको कार्य गर्न सरकारले ती क्षेत्रहरूको पहिचान गरी संकटग्रस्त क्षेत्रका रूपमा तोक्न लागेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता क्षेत्रहरूको पहिचान गरी संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष सिफारिस गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बाढी र पहिरोबाट बढी प्रभावित भएका पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरी काम गर्नुपर्ने सिफारिस गरिएको बताए ।
प्राधिकरणले संकटग्रस्त पालिकाहरूको नाम सार्वजनिक गरिसकेको छैन । तर, त्यस्ता पालिकाहरू दुई दर्जन बढी संख्यामा पहिचान गरिएको बताइएको छ । आज (शुक्रबार) साँझ बस्ने मन्त्रिपरिषद बैठकले त्यस सम्बन्धमा निर्णय लिने तयारी छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षमा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले संकटग्रस्त क्षेत्र घोषणाको सिफारिस गर्ने निर्णय लिएको हो ।