प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सर्वसाधरणको जिवनमाथि नै गम्भीर खेलवाड गरेको घटना बाहिरिएको छ । नेपालको हवाइ सुरक्षाको विषयमा बारम्बार प्रश्न उठीरहेका बेला प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको दबाबमा विमानस्थलबाट उड्डयन सुरक्षासम्बन्धी नियम उल्लंघन गरी विमान उडाइएकाे पाइएकाे छ ।

गत पुस १७ गते प्रधानमन्त्री दाहाल विमानस्थल उद्घाटन गरेलगत्तै काठमाडौं फर्किएका थिए । तर, बेलुका लास्ट ल्यान्डिङ भीएफआर (एलएलभी) सम्बन्धी नियम उल्लंघन गरेर विमानस्थलबाट ५ विमानले उडान भरेको खुलेको छ । जसका कारणले काठमाडौँ फर्कन तयारी अवस्थामा रहेका सयौँ यात्रुहरु जोखिमपूर्ण यात्रा गर्नु पर्यो ।

त्यस दिन प्राधिकरण प्रमुख अधिकारीले प्रधानमन्त्रीको उडान समयमा नै सुरक्षित तरिकाले गराउँन र अन्य उडानपछि गर्नका लागि निर्देशन दिएका थिए । टिभी अन्नपूर्णले प्राप्त गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको लगबुकअनुसार कलसाइन ६६० को श्री एयरलाइन्सको विमानका साथै कलसाइन ६१६, ६०८, ६२० र ६५४ नम्बरका बुद्ध र यतिका एटीआर विमान एलएलभीसम्बन्धी नियम उल्लंघन गरी उडान भरेका हुन् । यसरी सयौ यात्रुहरुको जिवन नै जोखिममा राखेर उडानका लागि निर्देशन दिनुले प्राधिकरणका प्रमुख अधिकारीको गैरजिम्मेवारीपन प्रस्ट हुन्छ ।

पुस १७ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखराको लास्ट एलएलभी समय ग्रिनविच समयमा ११ः३८ (नेपाली समयअनुसार ५ बजेर २३ मिनेट) निर्धारण गरेको थियो । तर, पोखराबाट उक्त समयपछि ५ वटा उडान भएका थिए । कलसाइन ६६० को श्री एयरलाइन्सको विमान ११ः४० (५ बजेर २५ मिनेट), कलसाइन ६१६ को विमान ११ः४३ (५ बजेर २८ मिनेट), कलसाइन ६०८ को विमान ११ः४६ (५ बजेर ३१ मिनेट), कलसाइन ६२० को विमान ११ः५७ (५ बजेर ४२ मिनेट) र कलसाइन ६५४ को विमान ११ः५९ (५ बजेर ४४ मिनेट) मा उडेको थियो ।

यी ५ मध्ये ३ वटा विमान थप गर्न मिल्ने १० मिनेटको अवधिमा उडान गरेका थिए भने दुई वटा एलएलभीको १९ र २१ मिनेटपछि उडेका थिए ।

लास्ट ल्यान्डिङ भीएफआर भनेको के हो ?

उपकरणको सहायताले विमान उडान–अवतरण गर्न नमिल्ने विमानस्थलमा एलएलभीसम्बन्धी नियम बनाइएको हुन्छ । उपकरणको सहायताले हुने उडान र अवतरण इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आईएफआर) अनुसार हुन्छ भने आँखाले हेरेर हुने उडान–अवतरण भिजुअल फ्लाइट रुल (भीएफआर) अनुसार हुन्छ ।

प्राधिकरण स्रोतका अनुसार एलएलभीसम्बन्धी नियम आँखाले हेरेर हुने उडान–अवतरण अर्थात् भीएफआर उडानमा लागू हुन्छ । आँखाले हेरेर भर्ने उडान हुने अन्तिम समयलाई एलएलभी भनिन्छ । आँखाले हेरेर गर्ने उडान सूर्योदयअघि र सूर्यास्तपछि गर्न नमिल्ने गरी प्राधिकरणले असार १७ गते भीएफआर उडानसम्बन्धी नियम संशोधन गरेको थियो । नियममा सबै विमानस्थल सूर्यास्तपछि अर्थात् लास्ट ल्यान्डिङ भीएफआर कटेपछि बन्द हुने र उडान–अवतरण गर्न नमिल्ने व्यवस्था छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएकै दिन एलएलभीसम्बन्धी नियम उल्लंघन गरिएको छ । पोखरा विमानस्थलबाट भीएफआर उडान गरेको विमान १० मिनेटपछि मात्रै आईएफआरमा परिवर्तन हुने भएकाले एलएलभी समयपछि पोखराबाट उडान गर्न दिनु जोखिमपूर्ण भएको विज्ञहरुले बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला पोखरा विमानस्थल उद्घाटन गरिएको दिन एलएलभी समय उल्लंघन नगरिएको दाबी गर्छन् । निरौलाले एलएलभी समय नकटेको दाबी गरे पनि पोखरा विमानस्थल कार्यालयको लगबुकमा ५ वटा विमान एलएलभी समय कटेपछि उडेको प्रस्ट देखिन्छ । निरौला एटीसीले झुक्किएर लगबुक भर्दा एलएलभी समय कटेको हुन सक्ने दाबी गर्छन् ।

यसो त एलएलभी सँन्बन्धी नियम दुर्घटनालाई नियन्त्रण गर्नका लागि बनाइएको हुन्छ । एलएलभी समयलाई महत्व नदिनुको अर्थ प्राधिकरणका उच्च अधिकारीहरु उड्डयन सुरक्षाका विषयमा गम्भीर छैनन् भन्ने प्रस्ट हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार