प्रधानमन्त्रीबारे वैद्यको अभिव्यक्तिको चौतर्फी आलोचना, एमालेले भन्यो- आपराधिक

वागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले शुक्रबार प्रदेश सभामा दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । नेकपा एमालेले वैद्यको अभिव्यक्तिको भत्र्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् ।

प्रवक्ता ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।

शुक्रबार प्रदेशसभामा बोल्दै कांग्रेस सांसद् वैद्यले प्रधानमन्त्री ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री पद जोगाइराख्नका लागि मुलुकलाई नोक्सानी हुने गरी अनावश्यक सम्झौता गरेको आरोप लगाएका थिए । ‘ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ,’ त्यसपछि वैद्यले भनेका थिए, ‘खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्‍यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’

वैद्यको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति फिर्ता लिएर आत्मआलोचना गर्न निर्देशन दिएका छन् । उनले संयम गुमाउन नपाइने बताएका छन् । बागमती प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले सांसद वैद्यको अभिव्यक्तिले पार्टीको गम्भीर ध्यानार्षण भएको बताएका छन् ।

उक्त अभिव्यक्तिको नेकपा (एमाले)का नेता योगेश भट्टराईले विरोध गर्दै वैद्यले तत्काल माफी माग्नुपर्ने बताएका छन् । यस्तै एमालेकै नेता महेश बस्नेतले प्रधानमन्त्री ओलीबारे त्यस्तो अभिव्यक्ति दिने वैद्यलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार