विश्वकप लिग-२ : चारै खेल जित्ने नेपालकाे लक्ष्य

काठमाडाैँ – आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहिबारबाट नेपालमा आयोजना हुदैछ । नेपाल, युएई र पपुवा न्युगिनी पीएनजी बीचको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखला किर्तिपुर मैदानमा हुन लागेको हो । उक्त श्रृंखलाबाट तेस्रो, चौथो र पाँचौं स्थानमा रहने टोलीको तय हुनेछ ।

घरेलु मैदानमा हुन लागेको श्रृंखलामा नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २–२ खेल खेल्नेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन विश्वकप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ । खेल अघि तीनै टोलीले तालिकामा अंक सुधार गर्ने लक्ष्यका साथ खेल प्रदर्शन गर्ने बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टे देशाइले अन्तिम सिरिज कठिन भएपनि जीतको लक्ष्यका साथ मैदान उत्रने बताए । उनले बिहीबारको खेलमा सम्पूर्ण ध्याक केन्द्रीत रहेको बताए । त्यस्तै नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय सोचेजस्तो खेल प्रदर्शन गर्न सफल भएको भन्दै आगमी खेल पनि जित्ने बताए ।

त्यस्तै युएई र पपुवा न्युगिनी पीएनजीका प्रशिक्षक र कप्तानहरुले पनि अन्तिम सिरिजमा ध्यान केन्द्रीत गरेको बताएका छन् । नेपालले बिहीबार पीएनजीसँग, आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ ।

श्रृंखलाका सबै चार खेल जित्न सके घरेलु टोली नेपाल सोझै विश्वकप छनोटमा पुग्नेछ भने एकदिवसीय मान्यता पनि कायमै रहनेछ । यदि नेपाल अङ्कतालिकाको शीर्ष तीनमा पर्न नसके विश्वकप छनोटका लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् ।

त्यस्तै लिग–२ मा शीर्ष पाँचमा पर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ । नेपालको ३२ खेलमा ३२ र यूएईको ३१ अङ्क छ  र तालिकाको पाँचौ स्थानमा छ ।

सम्बन्धित समाचार