नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि

नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सार्ने निर्णय गरेको हो । यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । बैठकमा सभापति देउवाले महामन्त्रीमार्फत महाधिवेशनको कार्यतालिका नै संशोधको प्रस्ताव गरेको गरेका हुन् ।

संशोधित कार्यतालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाउने उल्लेख छ । त्यस्तै पार्टी सभापतिमार्फत अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने गरिएको छ । त्यस्तै असार ६ गते हुने भनिएको गाउँरनगर वडा अधिवेशन अब साउन ६ गते हुने पार्टी सहमहामन्त्री डा प्रकाश शरण महत्तले जानकारी दिए । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने कांग्रेसले जनाएको छ ।

संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते गर्ने प्रस्ताव गरिएको छ । सहमहामन्त्री महतले पदाधिकारीले तय गरेको संशोधित कार्यतालिका केन्द्रीय समितिमा पेश गरिने र छलफलपछि पारित गरिने बताए । बैठकले पार्टीको महाधिवेशन संशोधित कार्यतालिका अनुसार गर्ने प्रतिबद्धता समेत जनाएको उनले जानकारी दिएका छन् । त्यस्तै बैठकले सरकारले महामारीलाई सत्ता जोगाउने कवजको रुपमा लिएको निष्कर्ष निकालेको छ । कोरोना नियन्त्रणमा सरकारले जनताका लागि केहिपनि गर्न नसकेको सहमहामन्त्री डा महतले बताए ।

कांग्रेसले कोरोना महामारीबाट जनताको जीवनरक्षाका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै छिटो भन्दा छिटो सवै नागरिकको पहुँचमा खोप पुराउन पनि सरकारलाई भनेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बोलाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार