धौलागिरि हिमाल आरोहण गर्न गएका पाँच रूसी नागरिकको मृत्यु

Image

म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् ।

पर्यटन विभागका निर्देशक राकेश गुरूङका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव फेला परेको हो । पाँचै जनाको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको निर्देशक गुरूङले बताए ।

मृत्यु हुनेमा अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको रहेका छन् । धौलागिरि आरोहणका लागि गएका ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए ।

जसमध्ये भालेरी सामालोलाई हेली एभरेष्टको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिए । चौथो क्याम्पमा पुगेपछि माथि जान नसकेपछि भालेरी तल झरेका थिए ।उनीहरू आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनमार्फत् आरोहणका लागि गएका थिए।

यो पर्वतारोहीको टोली तीन हप्ताअघि धौलागिरीतर्फ गएको थियो । अब मृतकका परिवारका सदस्य र रसियाली दूतावासलाई खबर गरी शवहरु ल्याउने व्यवस्था गरिने पर्यटन विभागले जनाएको छ ।