अन्तानानारिभो । मदागास्करको समुद्री तटमा डुङ्गा डुब्दा कम्तीमा २२ आप्रवासीको मृत्यु भएको त्यहाँका तटरक्षक अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मदागास्करको सामुद्रिक प्राधिकरण एपीएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लुकिछिपी मायोटेको फ्रान्सेली इलाकातर्फ जाँदै गरेको डुङ्गामा ४७ जना रहेको र उनीहरूको डुङ्गा डुबेको थियो ।’
“उक्त घटनामा २३ जना यात्रुको जीवित उद्धार गरिएको थियो भने २२ जनाको मृत शरिर समुद्रबाट निकालिएको थियो,” विज्ञप्तिमा भनिएको छ । शनिबार भएको उक्त दुर्घटनापछि वेपत्ता रहेका दुई जनाको खोजी तथा उद्धार कार्य जारी छ । हिन्द महासागरको मदागास्करको उत्तरमा रहेको फ्रान्सेली क्षेत्र मायोटे हुँदै यूरोप छिर्ने प्रयासमा जोखिमयुक्त बाटोका कारण हरेक वर्ष धेरै आप्रवासीहरूले अकालमा ज्यान गुमाउने गर्छन् ।