विज्ञापन संघले ‘एड–डे’ र विज्ञापन सप्ताह मनाउँदै

अन्तरक्रियादेखि रक्तदानसम्मको कार्यक्रम

नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवसलाई ‘एड–डे’ को रूपमा मनाउने भएको छ ।

२०४७ जेठ ३० गते स्थापना भएको संघले जेठ ३० गतेदेखि असार ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै साताभर नेपाली विज्ञापन सप्ताह मनाउने निर्णय पनि गरेको संघका अध्यक्ष सोमप्रसाद धितालले जानकारी दिए ।

सप्ताहमा विज्ञापन क्षेत्रसम्बन्धी सरोकारवालाहरूसँग वेभिनार साक्षत्कार गराइ नेपालको विज्ञापन उद्योगको योगदान, उपलब्धि र अवसरका विषयमा अन्तरक्रिया गरिने एड–डे विज्ञापन सप्ताह आयोजक उप–समितिका संयोजक तथा आनका प्रथम उपाध्यक्ष सुदिप थापाले बताए ।

सप्ताहअन्तर्गतका कार्यक्रमहरुमा एड–डेको लोगो सार्वजनिक गर्ने, नेपाली मिडियाहरुमा प्रेस रिलिज पठाउने, सोसल साइट र अन्य मिडियाहरुमा लोगो सार्वजनिक गर्ने, विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा विशिष्ठ व्यक्तित्व, सञ्चारउद्यमी, विज्ञापनउद्यमीहरुको नेपाली विज्ञापन उद्योगसम्बन्धी र विज्ञापनले गरेको प्रभावसम्बन्धी भिडियो क्लिप, बाइट तथा शुभकामना नेपाली स्याटलाइट टेलिभिजनहरुमा बजाउने जनाइएको छ ।

साथै संघले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ आइतबार बिहान ११ बजे संघको सचिवालय शान्तिनगरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार