नेपालले यूएईलाई ‘डिएल मेथड’बाट कसरी हरायो ?

काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गत बिहीबार कीर्तिपुर मैदानमा युएईले दिएको कीर्तिमानी ३११ रनको लक्ष्य पछ्याउने क्रममा ४१ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा २३५ रन जोडेको थियो।

ब्याटिङमा गुल्सन झा २५ रन र दिपेन्द्रसिंह ऐरी ४ रनमा बनाएर खेलिरहेका थिए। हजारौं दर्शक ओइरिएको त्रिवि मैदानमा त्यतिबेला बादल लागेका कारण धुम्म भएको अवस्था थियो।

विश्वकप छनोटमा पुग्न जित्नै पर्ने खेलमा नेपाल डिएल मेथडमा पनि पछि परेको थियो। त्यसैले नेपालका लगि जतिसक्दो छिटो रन बनाउनु पर्ने अवस्था थियो। त्यतिबेला युएईका कप्तान मोहमद वासिम बलिङमा आए। आफ्नो ओभरमा बलिङ गरेका वासिमविरूद्ध गुल्सनले पहिलो ओभरमा रन लिएनन्। दोस्रो ओभरमा दुई लिएका गुल्सन त्यसपछि भने आक्रामक रूपमा प्रस्तुत भए।

उनले तेस्रो बलमा छक्का प्रहार गरे। चौथो, पाँचौ र छैटौं बलमा चौका प्रहार गर्दा नेपालले एकै ओभरमा २० रन जोड्न सफल भयो। २० रन जोडेसँगै नेपाललाई राहत मिल्दा डिएल मेथडमा अघि रहेको थियो। तर युएईका लागि महँगो सावित भएको युएईलाई त्यही ओभरमा महँगो सावित भयो। किनभने दुई ओभरपछि खेल प्रकाशका कारण रोकियो।

४३ ओभरमा ६ रन र ४४ ओभरमा ८ रन जोड्दा नेपालले ६ विकेटको क्षतिमा २६९ रन जोडेको थियो। त्यतिबेला त्रिवि मैदानमा खेल्न पुग्ने प्रकाश नहुँदा अम्पायरले खेल रोके। जसको फाइदा नेपाललाई भयो। खेल नेपालले डिएल मेथडमा ९ रनले जित्यो।

केहो डिएलएस मेथड ?

सीमित ओभरका क्रिकेट खेलहरू वर्षा या अन्य कारणले छोट्याइनु पर्ने भएमा संशोधित लक्ष कसरी निर्धारण गर्ने भन्ने बारेमा विगत देखि नै विभिन्न विधिहरू अपनाइदै आएका छन् ।

तीमध्ये सबै हालका दिनहरूमा आइसीसीले मान्यता दिएको विधि हो डकवर्थ लुइस जसलाई छोटकरीमा डिएलएस भन्ने गरिन्छ ।यस विधिको आविष्कार ब्रिटिश तथ्यांकशास्त्री फ्र्यांक डकवर्थ र टोनी लुइसले १९९७ मा गरेका हुन् । आइसीसीले १९९९ मा यसलाई अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताहरूमा अधिकारिक रूपमा अपनाउन थालेको हो ।

डकवर्थ लुइसद्वयले अवकाश लिएपछि यस विधिलाई स्टेभेन स्टर्नले अद्यावधिक गरेपछि यस विधिले डकवर्थ (लुइसस्टर्न )नाम पायो र हाल यसलाई त्यसैले छोटकरीमाडिएलएस मेथड भन्ने गरिन्छ ।

२०१४ यता यो विधि पूर्ण रूपमा लागू गरिएको छ । आइसीसीले गतवर्षमात्र यस विधिलाई अध्यावधिक गरेको थियो ।हालसम्म करिब २ हजार अन्तर्राष्ट्रिय खेलहरूको टुङ्गो यस विधिद्वारा लगाइसकिएको छ ।विश्वकपको हकमा भने यस विधिको प्रयोग सबैभन्दा पहिले १९९९ मा भएको हो ।

कसरी हुन्छ लक्ष्य निर्धारण ?
यस विधिको प्रयोग आइसीसीद्वारा संचालित सबै जसो खेलहरूमा हुने गर्दछ । डकवर्थ लुइस विधिका अनुसार क्रिकेट खेलिराखेको कुनै पनि टीमसँग दुई प्रकारका संसाधन हुने गर्दछन् ।

जसको मद्दतले उनीहरू बढीभन्दा बढी रन बनाउन सक्षम हुने गर्दछन् । यी दुई संसाधन हुन् बाँकी ओभर र बाँकी विकेट ।अर्को शब्दमा भन्दा खेलको कुनै पनि मोडमा कुनै पनि टीमको रन बनाउने क्षमता यी दुवै संसाधनहरूमा भर पर्ने गर्दछ ।कुनै पनि टीम यी दुवै संसाधनहरूको मद्दतले बढीभन्दा बढी रन बनाएर विपक्षी टीमलाई चुनौती दिन सक्छ ।

यदि खेललाई निर्धारित ओभरभन्दा मुनि झार्नु परेको खण्डमा उक्त टीमसँग स्रोतहरूको कमी हुनजान्छ र यसैले लक्षलाई न्यायोचित बनाउन यस विधिको प्रयोग गरिने गरिन्छ ।डकवर्थ र लुइसले यिनै कुरालाई ध्यानमा राखेर एउटा सूची तयार पारेका छन्, जसले म्याचको अलग अलग चरणमा कुनै पनि टीमसँग रन बनाउने कति प्रतिशत संसाधन बाँकी छन् भन्ने निर्धारण गरिन्छ ।

यस सूची अनुसार यदि कुनै टीमले पुरै ५० ओभर ब्याटिङ गर्न बाँकी छ र उसका १० विकेट नै सुरक्षित छन् भने उससँग १०० प्रतिशत संसाधन सुरक्षित रहेको बुझिन्छ ।त्यसपछि त्यस टीमले जति जति ओभर खेल्दै जान्छ र विकेट गुमाउँदै जान्छ त्यति त्यति उसले संसाधन समेत गुमाउँदै जान्छ ।

यसरी लक्ष निर्धारण गर्दा यदि पहिले बलिङ गर्ने टीमको खेल बाधित भए सामान्यतया लक्ष बढाउने गरिन्छ भने पछाडी ब्याटिङ गर्ने टीमको खेलमा बाधा आए लक्ष घटाइन्छ ।जस्तै यदि कुनै टीमले २० ओभरको खेल खेलेको छ र त्यस समय यदि खेल रोकियो र त्यसबेला सम्म उसले २ विकेट गुमाएको थियो भने उससँग त्यसबेलासम्म ६३.३ प्रतिशत संसाधन बाँकी रहेको मानिनेछ ।

यदि खेललाई ४० ओभरमा झारिन्छ भने उक्त टीमले १० ओभर गुमाएको छ अबको हिसाबले उससँग २० ओभर शेष छन् र संसाधन ५४.२ प्रतिशत । यस्तोमा उक्त टीमलाई ६३.३-५४.२ =९.१ प्रतिशत संशाधनको घाटा हुनपुग्यो ।

यस्तो अवस्थामा उक्त टीमले प्रयोग गर्न पाउने कुल संसाधन १००- ९.१= ९०.९ प्रतिशत हुन्छ । त्यसैले यस घाटालाई क्षतिपूर्ति गर्न लक्षलाई थपघट गर्ने गरिन्छ ।आजभोली डकवर्थ लुइस गणना गर्ने सफ्टवेयर तथा अनलाइन प्लेटफर्म समेत उपलब्ध रहेका छन् । त्यस्तै एन्ड्रोइड र आइओएस प्लेटफर्ममा यस गणनाका लागि एप्लिकेसन समेत उपलब्ध छन् ।

सम्बन्धित समाचार