बीपी राजमार्गमा सुक्खा पहिरोमा पुरियो गाडी, सडक पूर्णरुपमा अवरुद्ध

Image

काभ्रे । सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ ।

काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना। १ ज ६८१७ नम्बरको सुमोलाई पुरेको हो । यसैगरी सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।

माथिबाट सुक्खा पहिरो झरीरहेकाले बाटो खुलाउन असहज भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी बसुन्धरा खड्काले जानकारी दिइन । पहिरो झर्न रोकिए १ घण्टामा राजमार्ग सञ्चालनमा आउने उनको भनाइ छ ।

सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ–ठाउँमा डाइभर्ट गरी आज बिहानबाट आठ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर केहीबेरमै खसेको सुक्खा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको खड्काले जानकारी दिइन् ।

पहिरोमा पुरिएको सुमोको पछाडिको भाग मात्र देखिएको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सो सडकमा यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

विगत दुई सातादेखि अवरुद्ध बीपी राजमार्गमा आजदेखि पूर्णरुपमा सवारी साधन सञ्चालनमा आउने भनिएको थियो।

बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको यो सडक सामान्य मर्मतपछि शुक्रबार बिहानदेखि सञ्चालनमा ल्याउने तयारी भइरहँदा पुनः पहिरो खसेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिएका थिए। बिहीबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका थिए।

‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका( ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ। भोलि राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनु भयो। सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद!’

काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग यही असोज ११ र १२ गतेको बाढीपहिरोले अवरुद्ध भएको थियो। बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुगेको छ।

सडक, पुल र कल्भर्टहरु बगेको ठाउँमा अस्थायी संरचना निर्माण गरेर बीपी राजमार्गमा गाडी चलाउने तयारी गरिएको अवस्थामा पुन पहिरो खसेको हो। नेपालीहरुको मुख्य पर्व दसैँअघि बीपी राजमार्ग बन्द हुँदा यात्रुले निकै सास्ती पाउँदै आएका छन्।

यो राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-६ र रोसी गाउँपालिका-७ सीमास्थल चौकीडाँडामा रोसी खोलाको बाढीले दुई सय मिटर सडक बगाएको स्थानमा डाइभर्सन सडक निर्माण गरिएको छ।