डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जोरायल गाउँपालिका ४ की ३७ वर्षीया भावना पुन मगरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
दसैँ मान्न कैलालीको चौमालाबाट जोरायल गाउँपालिका-४ थलीमा जाने क्रममा उनको भिरबाट लडेर मृत्यु भएको हो।
चौमालामा व्यापार गर्दै आएकी भावना श्रीमान् प्रेमबहादुर पुन मगर र छोराछोरीको साथमा दसैँ मनाउन घर हिँडेकी थिइन्।
बाटोमा पैदल हिँड्नेक्रममा जोरायल गाउँपालिका-४ को गणेशाल भन्ने ठाउँ नजिकै उनी भिरबाट खसेकी थिइन्। भिरबाट ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।