बिएन्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्री ओलीले डा. गिरीलाई धम्की दिएको आरोप

डा. गिरीको भौतिक र मानसिक सुरक्षा दिन माग

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालन निम्ति सम्बन्धन दिन वा राजीनामा गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई दबाब दिएको खुलेको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्सले आइतबार दिउँसो विज्ञप्ति निकालेर सरकारबाटै धम्की आएकाले गिरीको सुरक्षाको माग गरेपछि सो कुराको खुलासा भएको हो । जारी विज्ञप्तिमा भनिएको छ, ‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाई प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाव दिएका छन् ।’

विज्ञप्तिमा आयोगको अध्यक्षसमेत रहेका ओलीले आइतबार उपाध्यक्ष गिरीलाई बालुवाटार बोलाएर बिएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न वा राजीनामा गर्न दबाब दिएको उल्लेख छ । बालुवाटार बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसमेत सहभागी थिए । उनीहरूले उपाध्यक्ष गिरीलाई ‘कि त हस्ताक्षर गर्नुस् नभए राजीनामा दिनुस्’ भनेर धम्की दिएका थिए ।

बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले प्रधानमन्त्रीको सरकारी निवासलाई नै गुण्डागर्दीको थलो बनाएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले डा. गिरीको भौतिक र मानसिक सुरक्षाको समेत माग गरेका छन् ।

डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बन्न पुगेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार