इच्छाराज तामाङलाई ३ वर्ष, पत्नी सृजनालाई डेढ वर्ष कैद सजाय

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय निर्धारण भएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार इच्छाराजलाई ३ वर्ष र पत्नी सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय निर्धारण गरेको हो।

यसअघि गत माघ ७ गते इच्छारज र पत्नी सृजनासहितलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको थियो। आइतबार सजाय निर्धारण गर्न बसेको इजलासले उक्त निर्णय गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । नेकपा एमालेका पूर्वसांसदसमेत रहेका उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो। विशेषले इच्छाराजलाई १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ।

उनकी श्रीमती सृजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकिएको छ। केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको छ।

यस प्रकरणमा इच्छाराजकी पत्नी सृजना शाक्य तामाङविरुद्ध १ अर्ब तीन करोड ५ लाख, छोरीहरू प्रतिक्षाविरुद्ध ६ करोड २२ लाख र प्रतिष्ठाविरुद्ध एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो। उनीहरुमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका छन् । सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको र कम्पनीको नाफा अन्यत्र लगानी गरेको आरोपमा सिभिल सहकारीका तत्कालिन अध्यक्ष, उनकी पत्नी, छोरीहरु र नातेदार विरुद्ध मुद्दा दायर गरेको थियो ।

१६ भदौ २०७९ मा दायर भएको मुद्दामा सिभिल होम्सका अध्यक्ष समेत रहेका इच्छाराज तामाङ विरुद्ध ३ अर्ब ३१ करोड विगो सहित उनको नाममा रहेको जग्गा र अरु सम्पत्ति जफत हुनुपर्ने मागदावी गरेको थियो ।

विभागले इच्छाराजकी पत्नी सिर्जना शाक्य तामाङसँग एक अर्ब ३० करोड विगो मागदावी गरेको छ । मुद्दा दायर हुने बेलामा भने उनले पतिसँग सम्बन्धविच्छेद गरेकी थिइन् । विभागले सृजनासँग भएको सवारीसाधन र जग्गा जफत हुनुपर्ने मागदावी पनि गरेको थियो ।

इच्छाराजले आफूले गैरकानुनी रुपमा कमाएको सम्पत्ति छोरीहरु प्रतीक्षा र प्रतिष्ठाको नाममा लुकाएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको दावी थियो ।

त्यसैले छोरी प्रतीक्षाको नाममा रहेको ६ करोड ४७ लाख रुपैयाँ, घरजग्गा र शेयर समेत जफत हुनुपर्ने माग गरेको थियो । अर्की छोरी प्रतिष्ठाको नाममा रहेको एक अर्ब ८९ करोड रुपैयाँ, घरजग्गा र शेयर जफत हुनुपर्ने मागदावी पनि विभागले गरेको थियो ।