भेनेजुएलामाथि ब्राजिलको शानदार जित

आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ । गएराति भएको प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–० को सहज जित निकाल्यो । ब्राजिलको लागि मार्कीनोज, नेयमार र ग्याब्रियल बार्बोसाले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्ड बक्स भित्रबाट हुलमुलमा गोल गरेका थिए । दोस्रो हाफमा ब्राजिलले २ गोल थप्दै जित पक्का गरेको हो । खेलको ६५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए । पेनाल्टी क्षेत्रभित्र ड्यानीलिलाई लुइस मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

खेलको अन्तिम समयमा ग्याब्रिएल बार्बोसाले नेयमारको असिस्टमा गोल गर्दै जित सुनिश्चित गरे । नेयमारको क्रसलाई बार्बोसाले सहजै गोल गर्दै ३-० को जितसम्म डोर्याएका थिए ।

कोरोना संक्रमणका कारण भेनेजुएलाका ८ खेलाडीले कोपा गुमाउने भएपछि टोली केहि कमजोर देखिएको थियो ।

कोपा अमेरिका फुटबलको यो संस्करणमा लेटिन अमेरिकाका १० टोली सहभागी छन् । प्रतियोगिता अर्जेन्टिना र चिलीमा आयोजना गर्ने भनिएपनि अन्तिम समयमा ब्राजिलमा सारिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार