मोटो भयो, ठूलो पेट लाग्यो भने सुख पाएछ भन्ने चिन्तन हामीकहाँ अहिले पनि कायमै छ। परदेश गएको छोरो मोटाएर आएन भने यसको कमाइ राम्रो नभएको र बिहे गरेर गएकी छोरी मोटाइन भने घरमा सुख छैन रहेछ भन्ने पनि बुझाइ छ। तर मोटोपन रोगको भण्डार हो भन्ने बुझाइ अझै कमै पाइन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर मोटोपनका कारण हरेक वर्ष कम्तीमा २८ लाख मानिसको मृत्यु हुने गरेको छ। अहिलेकै अवस्था रहेमा सन् २०२५ सम्ममा २ करोड ७० लाख मानिस मोटोपनको सिकार हुने देखिन्छ। विश्व ओवेसिटी फेडेरेसनको प्रतिवेदनअनुसार संसारभर मोटोपनका कारण सिर्जित स्वास्थ्य समस्याको उपचारका लागि मात्र वार्षिक १.२ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च भइरहेको छ।
कस्तो व्यक्तिलाई मोटो भएको मानिन्छ भन्ने मापनका लागि उमेर र अवस्थाले निर्धारण गर्दछ। सामान्यतया शरीरको उचाइको अनुपातमा तौललाई तुलना गरी मोटोपनको स्तर निर्धारण हुन्छ। तर सबै अवस्थामा यसले सही नतिजा नदिन पनि सक्छ।
यसका लागि उचाइ, तौलका साथै मांसपेसी, हाड र बोसोको अनुपात कस्तो छ भन्नेसम्मको प्राविधिक जाँच गर्न जरुरी हुन्छ। यसरी हेर्दा हामीले आँखाले देख्दा सामान्य लाग्ने व्यक्ति पनि मोटोपनको सिकार भइरहेको हुन सक्छ। डाइटिसियनसँग परामर्श लिई जाँच गराएमा मोटोपनको वास्तविक मापन र उचित व्यवस्थापन गर्न सहज हुन्छ।
मोटोपना र स्वास्थ्य
मोटोपनलाई समयमै व्यवस्थापन गर्न सकिएन भने मुटुरोग, मधुमेह, उच्च कोलेस्टेरोल कलेजोमा बोसो जम्ने र कलेजो खराब हुने, उच्च रक्तचापजस्ता विभिन्न प्राणघातक नसर्ने रोगदेखि विभिन्न खालका क्यान्सरसम्म हुन सक्छ। मोटोपन धेरै भएका व्यक्तिमा रक्तचाप, कोलेस्टेरोल, मधुमेहको मात्रा सामान्य स्तरमै छ भने पनि हृदयाघात हुने सम्भावना सामान्य व्यक्तिमा भन्दा २८ गुणा बढी हुने एक अध्ययनले देखाएको छ।
औषधि वा शल्यक्रियाबाट भन्दा पनि खानपान र जीवनशैलीबाट तौल व्यवस्थापन गर्नु बढी बुद्धिमानी हुनेछ।
ब्रिटिस हार्ट फाउन्डेसनको एक अध्ययनअनुसार मोटोपन भएका व्यक्तिमा मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मुटु रोग, थाइराइड, महिलामा महिनावारीमा गडबढी, दम, पित्त थैलीसम्बन्धी समस्या, श्वासप्रश्वाससम्बन्धी समस्याका साथै मानसिक समस्या पनि धेरै पाइएको छ। थोरै मात्रामा तौल व्यवस्थापन गर्दा पनि धेरै हदसम्म यी समस्याबाट बचिने अध्ययनहरूले देखाएका छन्।
ठूलो आन्द्राको क्यान्सर, आन्द्रा तथा महिलामा स्तन क्यान्सरको खतरा र मिर्गौला खराबी गराउन पनि मोटोपनले भूमिका खेल्छ। केही अध्ययनले पित्तथैली, पाठेघर, प्यांक्रियाजको क्यान्सर पनि मोटोपनसँग सम्बन्धित भएको औंल्याएका छन्। पित्तथैलीको पत्थरी र अन्य रोग मोटा व्यक्तिमा बढी हुने पाइएको छ। मोटोपनले हाडजोर्नीसम्बन्धी विभिन्न खालका समस्या पनि निम्त्याउने गर्दछ। सुतेको समयमा एक्कासि श्वासप्रश्वास रोकिन गई ज्यान गुम्नुको एउटा मुख्य कारण मोटोपन पनि हो। यसलाई मेडिकल भाषामा स्लिप एप्निया भनिन्छ। मोटोपनले मानसिक रूपमा असहज महसुस गर्ने, शरीर दुखिरहनेजस्ता अनेकौं समस्या निम्त्याउन सक्छ।
कसरी बच्ने ?
उचित खानपान र जीवनशैली तौल ठीक राख्ने उचित उपाय हुन्। के खाने, कति खाने र कसरी खाने भन्नेले नै हाम्रो स्वास्थ्य निर्धारण गरिरहेको हुन्छ। आफ्नो शरीरलाई आवश्यक पर्नेजति क्यालोरी पाइने खाना खाने र शारीरिक रूपमा पनि त्यहीअनुसार सक्रिय हुने हो भने तौल सन्तुलनमा रहन्छ। तौल घटाउन वा बढाउनका लागि पनि त्यहीअनुसार क्यालोरी घटबढ गर्नुपर्छ।
विभिन्न अध्ययनले व्यक्तिको तौल घटबढमा ८० प्रतिशत खाना र २० प्रतिशत व्यायामको भूमिका हुने देखाएका छन्। त्यसैले व्यायाम गरेर मात्र पनि तौल घट्दैन वा घटिहाले पनि छोटो समय नगर्दैमा फेरि ह्वात्तै बढ्छ। त्यसका लागि खानालाई पनि सन्तुलन गर्नुपर्ने हुन्छ। तौल घटाउनका लागि इच्छाशक्ति र उत्प्रेरणाले ठूलो भूमिका खेल्छ। उचित खानपान र जीवनशैली अपनाउन आत्मविश्वास, निरन्तर लगाव र प्रतिबद्धता चाहिन्छ।
अचेल तौल घटाउने नाममा विभिन्न मेसिन, चिया, औषधिको व्यापक प्रचार गरिएको देखिन्छ। विशेषगरी भाइब्रेसनमार्फत बोसो घटाउने भनिएका मेसिनले अत्यन्तै जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्ने अध्ययनहरूले देखाएका छन्। मोटोपन घटाउने मेसिन र औषधि प्रयोग गर्नु भनेको अर्को रोग निम्त्याउने खतरा मोल्नु हो।
विज्ञापनका भरमा त्यस्ता वस्तुको प्रयोग गरी स्वास्थ्य कमजोर पार्नु गलत हो। डाइटिसियनहरूसँग परामर्श लिई आफूलाई दिनभरि आवश्यक पर्ने क्यालोरी र खानेकुराको सूची तयार पारी उपभोग गर्ने र त्यहीअनुसार शारीरिक रूपमा पनि सक्रिय हुने हो भने मोटोपना घट्छ। एउटा खाना खाएपछि अर्को खाने समय धेरै खाली पनि राख्नु हुँदैन। दिनमा ४ देखि ५ पटक ठिक्क मात्रामा सन्तुलित खाना खाएमा तौल मात्र हैन, अन्य धेरै स्वास्थ्य समस्या हट्छन्। खाना खानेबित्तिकै सुत्ने, दौडने, नुहाउने, चिया कफी खाने पनि गर्नु हुँदैन। तनाव पनि मोटोपनको कारक भएकाले खाने खाने बेलामा वा अन्य समयमा पनि तनाव लिनु हुँदैन।
कसलाई कति पोषणतत्व आवश्यक पर्छ भन्ने व्यक्तिको अवस्थाअनुसार फरकफरक हुन्छ। त्यसका लागि शरीर पिण्ड सूचकांक प्रमुख आधार हो। खानेकुराको उपलब्धता, व्यक्तिको रोजाइ र खानपान शैलीअनुसार हरेक दिन तथा हप्ताको खानाको योजना बनाउन सकिन्छ।
खानामा सागपात, फलपूmलको मात्रा बढाउने, क्यालोरी कम दिने खाना जस्तै– काँक्रो, ब्रोकाउली, बन्दाकोपी, काउली, सागपातले पेट भर्ने र क्योलोरी बढी दिने खाना कम खाने, फाइबर भएका खाना खाने, कार्बोहाइड्रेट बढी पाइने खाना, बढी चिल्लो भएका खाना कम खाने, दैनिक रूपमा कम्तीमा ४५ मिनेटभन्दा बढी पसिना आउने गरी हिँड्ने वा अन्य कसरत गर्ने गर्दा केही हदसम्म तौल घट्छ।
तौललाई कहिल्यै पनि ह्वात्तै घटाउने गर्नु हुँदैन यसो गर्दा अर्को समस्या निम्तिन सक्छ। पछिल्लो समय शल्यक्रियामार्फत मोटोपना घटाउने प्रविधि पनि आएको छ। औषधि वा शल्यक्रियाबाट भन्दा पनि खानपान र जीवनशैलीबाट तौल व्यवस्थापन गर्नु बढी बुद्धिमानी हुनेछ।