विमानस्थल सञ्चालन गर्न नगरपालिकाले प्राधिकरणको खातामा जम्मा गर्यो एक करोड

मझगाउँ विमानस्थल सञ्चालन गर्न भीमदत्त नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणलाई एक करोड रकम उपलब्ध गराएको छ । लामो समयदेखि सो विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालन र स्तरोन्नति गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार बीच भएको त्रिपक्षीय साझेदारी अनुसार नगरपालिकाले सो रकम आइतबार प्राधिरकरणको बैंक खातामा जम्मा गरेको हो ।

बाँकी रकम आगामी असोज मसान्तसम्म उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्करप्रसाद भट्टले जानकारी दिए । विमानस्थल सञ्चालका लागि भौतिक पूर्वाधार निर्माण गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानिय तह बीच गत फागुन त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको थियो ।

सम्झौतामा मन्त्रालयले ५०, सुप प्रदेशले २५, भीमदत्तले १५ र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम ब्यहोर्ने सहमति भएको थियो । “विमानस्थलका लागि भवन निर्माण, उपकरण जडान, मर्मतसँगै एक हजार ६ सय ८५ मिटर रनबे कालोपत्रे गर्ने अगाडी बढाउनका लागि सम्झौता भएको हो” भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टले भने, “विमान स्थलको सुरक्षाका लागि तारवार लगाउने काम पुरा भएको छ । विमानस्थल सञ्चालनका लागि यस अघि सम्भाव्यता अध्ययनसंगै लागत अनुमान पुरा भैसकेको छ ।”

विमानस्थलको रनवे निर्माण गर्नका लागि ३७ करोड लाग्ने अनुमान गरिएको छ । रनवेको लम्बाई एक हजार ६ सय मिटर हुने बताइएको छ । विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अबस्थामा रहेको छ । विमान स्थल सञ्चालन भए पछि यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार