आफैँलाई बढुवा गर्न बदनाम महानिर्देशकको नियमावलीविपरीत काम

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई उपमहानिर्देशकमा बढुवाका लागि नियमविपरीत सिफारिस गरिएको छ । प्राधिकरणका कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५६ को व्यवस्थाविपरीत पदपूर्ति समिति गठन गर्दै पुल दरबन्दीमा रहेका महानिर्देशक अधिकारीलाई उपमहानिर्देशकमा बढुवा गर्न सिफारिस गरिएको हो ।

यस भन्दा पहिले २०७८ माघ २० गते अधिकारी प्राधिकरणको महानिर्देशक भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको दफा १९ मा भएको व्यवस्थाअनुसार प्राधिकरणको ११ औं तहमा कार्यरत अधिकारी आफूभन्दा वरिष्ठ ६ जना १२औं तहका अधिकृतलाई उछिन्दै महानिर्देशक बनेका थिए । शक्ति केन्द्रलाई सजिलै प्रभावमा पार्न सिपालु अधिकारी महानिर्देशक बनेको एक वर्ष नपुग्दै उपमहानिर्देशकका लागि सिफारिस भएका हुन् ।

नियमविपरीत गठन गरिएको पदपूर्ति समितिले अधिकारीसहित ११औं तहका ६ जनालाई उपमहानिर्देशकमा बढुवाका लागि सिफारिस गरेको छ । सिफारिस हुने अन्यमा जगन्नाथ निरौला, नविना कर्माचार्य, टेकनाथ सिटौला, बाबुराम पौडेल र विनोद न्यौपाने छन् ।

चैत १८ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणको ११औं तहमा कार्यरत निरौला र कर्माचार्यलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणको १२औं तह अर्थात् उपमहानिर्देशकमा बढुवा भएका निरौला र कर्माचार्य ११औं तहका वरिष्ठ कर्मचारी हुन् । सञ्चालक समितिले वरिष्ठ कर्मचारीलाई नै बढुवा गरे पनि पदपूर्ति समितिले सञ्चालक समितिमा नाम सिफारिस गर्दा नियमावली उल्लंघन गरिएको छ ।

यसो त पदपूर्तिमा लागि बनाइएको समिति नै नियम विपरीत छ । प्राधिकरणका कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावलीमा प्राधिकरणका महानिर्देशकको नेतृत्वमा पदपूर्ति समिति गठन गर्नुपर्ने प्रस्ट व्यवस्था छ ।

नियमावलीले प्राधिकरणको महानिर्देशकलाई उपमहानिर्देशकमा बढुवा गर्नुपर्ने परिकल्पना गरेको छैन । तर, सरकारले ११औं तहका जुनियर अधिकृतलाई महानिर्देशक बनाएपछि प्रधिकरणको महानिर्देशकलाई नै उपमहानिर्देशक बढुवा गर्नुपर्ने अवस्था आयो, जसले गर्दा उपमहानिर्देशकमा बढुवाका लागि सिफारिस गर्न नियमावलीविपरीत पदपूर्ति समिति बनाइएको छ ।

हरेक बढुवा र नियुक्तीमा सेटिङ र बार्गेनिङ गर्ने बानी परेका अधिकारीले आफूलाई बढुवा सिफारिसमा पार्नमा लागि अवैध रुपमा कारोबार गरेको समेत निकटहरु बताउँछन् । नियमविपरीत समिति निमार्णका लागि अधिकारीले मोटो रकम बुझाएको स्रोतको भनाइ छ । प्राधिकरणभित्र घुस र बार्गेनिङको नाइके उपनामले परिचित अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी छ । उनले त्यसलाई समेत प्रभावित पार्ने गरी योजना अगाडी बढाएको उनी निकटहरु बताउँछन् ।

दरबन्दी पुलमा

प्राधिकरणको ११औं तहमा कार्यरत अधिकारी गत वर्ष प्राधिकरणको महानिर्देशक भएपछि अधिकारीको दरबन्दी पुलमा गएको छ । नियमावलीको नियम ३.१ को उपनियम ६ मा प्राधिकरणको सेवामा बहाल रहेको कुनै पनि कर्मचारी महानिर्देशक नियुक्त भएमा उनी बहाल रहेको पदको पदाधिकार स्वतः समाप्त हुने र उनको पदाधिकार पुल दरबन्दीमा स्थानान्तरण हुने व्यवस्था छ । यस्तो प्रयोजनका लागि उनको तहअनुसारको पद पुल दरबन्दीमा स्वतः सिर्जना भएको मानिने नियमावलीमा उल्लेछ छ ।

नियम ३.१ को उपनियम ७ मा नेपाल सरकारले महानिर्देशकलाई पदबाट हटाएमा निजको पदाधिकार उपनियम ६ बमोजिम सिर्जना भएको पुल दरबन्दीको पदमा स्थानान्तरण हुने व्यवस्था छ ।

पुल दरबन्दीमा भएको कर्मचारी बढुवा प्रयोजनका लागि सिफारिस नहुने लोक सेवा आयोगका पदाधिकारी बताउँछन् ।पुल दरबन्दीमा भएको व्यक्तिलाई बढुवा सिफारिस गर्ने वा नगर्ने भनेर पदपूर्ति समितिमा गम्भीर छलफल भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव केसी बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार