काठमाडौँ– ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जना ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए ।
उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्याउने गरिएको छ ।
मंगलबार पनि प्रहरीले २० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।