निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो ।
रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो ।
यसअघि ०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो । त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त छ ।
“मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ ।