उद्योग वाणिज्य महासंघको निर्वाचन : राति ८ बजेदेखि मतगणना

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षसहितका पदमा भएको निर्वाचनको मतदान सकिएको छ ।  निर्वाचन प्रमुख लिलामणि पौडेलका अनुसार महासंघमा वस्तुगत, जिल्ला नगर र एसोसिएटतर्फको मतदान सकिएको हो ।  अब मतगणना ८ बजे रातीबाट सुरु हुनेछ । जिल्ला नगर र वस्तुगतर्फत शतप्रतिशत मत खसेको छ भने एसोसिएटमा कुल १ हजार ६६४ मध्ये १ हजार ६४९ मत मात्र खसेको छ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व सम्हाल्दै छन् भने वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबिच त्रिपक्षीय प्रतिस्पर्धा छ ।

त्यस्तै जिल्ला नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ । आज हुने निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गर्नेछन् । जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेमा दोस्रो चरणका बिहीबार फेरि मतदान हुनेछ । दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार