दोस्रोपटक म्याद थपका लागि लामिछानेलाई आज अदालत लगिँदै

सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक म्याद थपको लागि जिल्ला अदालत कास्की लगिँदैछ ।

यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

यही कात्तिक ४ गते कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

अदालतले दिएको उक्त समयमा अनुसन्धान र बयान पूरा नभएकाले म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रुपमा गोर्खा मिडिया प्रा.लि. मा लगेको भन्दै लामिछानेमाथि अनुसन्धान थालिएको हो । लामिछाने गोर्खा मिडियाले चलाएको ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रबन्ध निर्देशक हुन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडे पनि कास्की प्रहरीकै हिरासतमा छन् ।