काठमाडौं – प्रख्यात संगीतकार शम्भूजीत बासकोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ लाई सार्वजनिक गरिएको छ ।
गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहिबार काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बरिस्ठ संगीतकार शम्भूजीत बासकोटा, गायक राम कृष्ण ढकाल , म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा , निर्देशक निकेश खड्का लगायतको उपस्थिति रहेको थियो । गीतको म्युजिक भिडियोमा स्वयम् गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारी अभिनय रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको सम्पादन रहेको छ ।लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आएका गीतकार ज्ञानेन्द्र गदाल नेपाली गीत, कथा, कविता ,गजल लगायतको बिभिन्न साहित्यीक लेखनमा निरन्तर लागिरहेका छन् ।
गदालले नेपालको साहित्य क्षेत्रमा योगदान गरेवापत नेपाल सरकारले प्रदान गर्ने छिन्नलता गीत पुरस्कारबाट समेत पुरस्कृत भएका छन् । उनका धेरै एकल गीतका एल्बम र गीतसंग्रहहरु पनि प्रकाशित भैसकेका छन् ।