एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो । आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुने भएको छ ।
नेपालले यूएईको नवौं विकेट लिइसकेपछि खेल रोकिएको हो । नेपालका बलरहरु पूर्णरुपमा हावी भइरहँदा यूएई झिनो रनमा समेटिने अस्वस्था थियो । खेल रोकिनुअघि यूएईले २७.३ ओभरमा १०६ रन मात्रै जोड्न सकेको छ ।
भोलि २७.४ बलबाट पहिलो इनिङको खेल सुचारु हुने छ र यूएईको अन्तिम जोडी कात्र्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउनेछन् । बलिङको सुरुवात ललित राजवंशीले नै गर्ने छन्, जसले आफ्नो पाचौं ओभरको चौंथो बल फ्याकेपछि खेल रोकिएको थियो । खेल रोकिनुअघि ललितले लगातार बलमा दुई विकेट लिएका थिए । त्यसैले उनीसँग आफ्नो ह्याट्रिक पूरा गर्दा यूएईलाई अलआउट गर्ने अवसर हुने छ ।
भोलि पनि वर्षाले खेल विथोलेमा अम्पायरहरुले डीएल मेथडका आधारमा ओभर छोट्याएर नेपाललाई नयाँ टार्गेट दिन सक्छन् । त्यो पनि सम्भव नभए सुपरओभरबाट फैसला हुन्छ । र, यदि त्यो पनि सम्भव नभएमा नेपाल स्वत विश्व एकदिवसीय वरियताका आधारमा एसिया कपका लागि छनोट हुन्छ । एकदिवसीय वरियतामा नेपाल यूएईभन्दा अगाडि छ ।