बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरूण चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सरकारी जग्गा निजी बनाएको मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाद रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत बुधबार पक्राउ गरेको थियो ।
उनीहरूलाई सोमबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यसमक्ष पेस गरिएको हो । आचार्यको इजलासले उनीहरूलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
बाँसबारी छालाजुत्ता उद्योगको जग्गा प्रक्ररणमा पक्राउ परेका तीनैजना स्वास्थ्यको कारण देखाई ग्रान्डी अस्पतालमा छन् । प्रहरीले उनीहरूलाई सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको रोहवरमा बयान गरेको थियो ।