इन्टर मिलानले युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । इन्टर मिलानले बुधबार राति खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा आफ्नै सहरको चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २—० गोलले हरायो ।
एसी मिलानको मैदानमा भएको खेलमा इन्टरले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो । उसले तीन मिनेटको अन्तरमा दुई गोल गरेको थियो ।
इन्टर मिलानले खेल सुरु भएको ११ मिनेटभित्रै दुवै गोल गरेको थियो । ८० हजार दर्शकले खचाखच भरिएको रंगशालामा खेलिएको उक्त खेलको आठौं मिनेटमै इन्टर मिलानका लागि एडिन डेकोले पहिलो गोल गरेका थिए । बोस्निया एन्ड हर्जगोभिनाका ३७ वर्षीय अनुभवी स्ट्राइकर डेकोले गोल गरेपछि एसी मिलानका हजारौं दर्शक स्तब्धः बनेका थिए ।
निर्धारित समयको ११औं मिनेटमै इन्टर मिलानका हेनरिख मख्तरयनले अर्को गोल थपेका थिए । आर्मेनियाका ३४ वर्षीय मिडफिल्डर हेनरिखले फेड्रिको डिमार्कोको उत्कृष्ट पासमा उक्त गोल गरेका हुन् ।
खेल अवधिभर इन्टर मिलानको तुलनामा एसी मिलानका खेलाडीले बढी समय बल आफ्नो खुट्टामा नचाएका थिए । तर, ५७ प्रतिशत समय बललाई आफ्नो नियन्त्रणमा राखे पनि एसी मिलानका खेलाडीले गोलको अवसर भने सृजना गर्न सकेनन् ।