इमरान खानपछि पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तान तेहरिक-ए-इन्साफ(पीटीआई)का नेताहरूलाई पनि गिरफ्तार गरिएको छ । बीबीसी उर्दूका अनुसार पीटीआईका नेता तथा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि पक्राउ गरिएको छ । कुरैशीलाई बुधबार पक्राउ गरिएको हो ।

पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि देशभर पीटीआईका कार्यकर्ता प्रदर्शन र आगजनीमा उत्रिएका छन् । पछिल्ला केही दिनका हिंसामा कम्तीमा १० जना मारिएको बीबीसीले जनाएको छ ।

पक्राउ पर्नुअघि पीटीआईले सार्वजनिक गरेको भिडियोमा कुरैशीले भनेका छन्, ‘प्रहरी मलाई गिरफ्तार गर्न आएको छ । म एउटा सन्देश दिन चाहन्छु, यो आन्दोलन स्वततन्त्रताको हो । यसमा हामीले सहभागिता जनाउनुपर्छ । आज इमरान खान उनीहरूको हिरासतमा छन् । उनको ज्यानलाई खतरा छ ।’

उनले पूर्वप्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन रोकिन नहुने पनि बताएका छन् । उनको ज्यान खतरामा रहेका बताउँदै कुरैशीले आन्दोलन जारी राख्न भिडियोमार्फत आह्वान गरेका छन् ।

इस्लामाबाद प्रहरीले खानलाई अल कादिर ट्रस्टको मामिलामा पक्राउ गरेको हो । अर्को कुनै मुद्दामा धरौटी बुझाउन अदालत पुगेका खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । एनएबी (नेसनल एकाउन्टिबिलिटी ब्युरो) ले आफ्नो कानुनअनुसार खानलाई पक्राउ गरेको विज्ञप्ति जारी गरेको छ ।

खानले सन् २०१९ डिसेम्बर २६ मा अल कादिर ट्रस्ट स्थापना गरेका थिए । यो ट्रस्टका प्रमुख खान स्वयं र उनकी पत्नी बुसरा बीबी छन् । पाकिस्तानको डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सत्तामा आएपछि गत वर्षको जुनमा खान र उनकी पत्नीविरुद्ध एक रियल इस्टेट कम्पनीको अवैध ५० अर्ब रकमलाई कानुनी हैसियत दिएको आरोप लागेको थियो । त्यसबापत आफ्नो ट्रस्टका लागि अर्बौं रुपैयाँको जमिन दानमा हासिल गरेको आरोप उनीहरूमाथि छ । खानले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

सम्बन्धित समाचार