खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते दिइने

सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप दिने भएको छ । बृहत् ‘खोज र खोप’ अभियानअन्तर्गत सरकारले वैशाख १५ गते पनि यो अभियान सञ्चालन गरेको थियो । यो खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकाहरुलाई नियमित खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा अभियान गौतमले छुटेका बच्चाहरुलाई पहिचान गरी खोप दिने अभियान सञ्चालन गरेको जनाए । उनले भने, ‘कोभिड-१९ भन्दा पनि धेरै संक्रामक रोगकाविरुद्ध खोप दिइराखेको हो । विभिन्न कारणले खोप लगाउन बच्चाहरु छुटेका छन् । खोप नलगाउँदा के परिणाम हुन्छ भनेर त दादुरा महामारीले देखाइसकेको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा गई आ–आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन र छरछिमेकमा कसैले खोप लगाउन छुटेका छन् कि बुझेर समन्वय गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचार