महिना दिनपछि खुल्यो रौतहटको गरुडा नगरपालिकाको तालाबन्दी

रौतहटको गरुडा नगरपालिकाको तालाबन्दी एक महिनापछि खुलेको छ ।

एक महिना भन्दा बढी दिनदेखि गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताला सोमबार बेलुका ७ बजे खुलेको हो ।

नगर उपप्रमुख पुनमदेवी चौधरीसहित ६ जना वडा अध्यक्षहरुले विभिन्न माग राख्दै विगत एक महिनादेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरी मुलगेटमा धर्ना दिँदै आएका थिए ।

नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिहरुको माग सम्बोधन गर्ने लिखित सहमति गरे पछि नगर उपप्रमुख चौधरीसहित आन्दोलनरत वडा अध्यक्षहरुले सोमबार ताल्चा खोलेका हुन् ।

जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा मेयर जयसवालर र आन्दोलनरत पक्ष बीच विभिन्न बुदाँमा लिखित सहमति भएपछि आन्दोलनरत जनप्रतिनिधिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै पालिका कार्यालयमा लगाएको ताला खोलिएको जनाइएको छ ।

ताला खुलाउन जिल्ला प्रशासन कार्यालय रौतहटमा यस् अघि दुवै पक्ष बीच पटक पटक वार्ता हुँदै आएपनि कुरा नमिलेपछि उक्त वार्ता असफल हुँदै आएको थियो । तर सोमबार पुनः जिल्ला प्रशासन कार्यालयमा दुवै पक्ष बीच भएको वार्तामा सहमति जुटेको थियो ।

वार्ता सफल भएपछि गरुडा नगरपालिकाका मेयर, उप मेयर, वडा अध्यक्षहरुबिच लामो समय देखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव, मतभेद र विवाद अन्त्य भएको छ ।