प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा उठाउने उम्मेदवार छनोट गरेको छ । माओवादी केन्द्रले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । त्यस्तै बैठकले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई उम्मेदवार बनाउनेसमेत सर्वसम्मत निर्णय गरेको छ ।
निर्वाचन आयोगले मंसिर १६ गते उपनिर्वाचनको मिति तोकेको छ ।
गत निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका राजकुमार नकर्मी ९ हजार ४३ मतका साथ मेयरमा निर्वाचित हुँदा एमालेका केशवरत्न बज्राचार्यले ५५०७ मत ल्याएर दोस्रो हुँदा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका शिवशरण महर्जनले ४०९० र उपमेयरका उम्मेदवार सुशीला बस्नेतले २२४० मत ल्याएका थिए । अघिल्लै निर्वाचनमा अस्वीकृत बनेका उनै महर्जनलाई फेरि माओवादीले उम्मेदवार बनाउन लागेको हो ।