लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ‘समन्वय र विकास’का विषयमा हुने छलफलका लागि चीनको तीनदिने भ्रमणमा जाने भएका छन् । उनको चीन भ्रमण र छलफलको तालिका मंगलबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
आगामी कार्तिक २६ गतेदेखि २८ गतेसम्म चीनको सिचुआन प्रान्तमा समन्वय र विकासका विषयमा छलफल गर्न अन्तराष्ट्रिय सम्मेलन हुँदैछ ।
उक्त सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्य चीन जान लागेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । मुख्यमन्त्री आचार्यसँगै लुम्बिनी प्रदेश सरकारको ७ सदस्यीय टोली सहभागी हुनेछ । भ्रमण टोलीका सबै सदस्यको भ्रमण पनि मन्त्रिपरिषद्बाट स्वीकृत भएको पन्थीले बताए ।
टोलीमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत रहने छन् । २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको थियो । त्यतिबेला कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो । अहिले त्यही समझदारीलाई निरन्तरता दिने र लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्रमा चीनबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल गर्ने सरकारको तयारी छ ।