पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याइँदै

सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले असारसम्म ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप ल्याउन लागेको जानकारी दिए । उनले एचपिभी खोप सुरुमा परीक्षणका रूपमा १५ वर्षसम्मका किशोरीलाई लगाइने जानकारी दिए ।

आगामी असारसम्ममा सिकोलिन नामक २० हजार भायल खोप भित्रिने छ । सुरुमा थोरै भायल भएकोले परिवार कल्याण महाशाखाको निर्णय अनुसार उक्त खोप वितरण हुने छ । परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा अभियान गौतमले २० हजार भायल एचपिभी खोप ल्याउनका लागि सम्झौता भइसकेको जानकारी दिँदै कुन कुन जिल्लामा खोप लैजाने भन्ने निर्णय भइनसकेको बताए ।

यो खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मान्यता प्रदान गरेको खोप हो । नेपालमा अहिले यसको मूल्य प्रति एक भायलको छ हजार २४० रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार