५ दिनअघि श्रीमती गुमाएका भारतीय चर्चित धावक मिल्खा सिंहको निधन

भारतका चर्चित धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ना गराइएको थियो ।

शुक्रबार उनको स्वास्थ निकै बिग्रिएपछि धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन नसकिएको पिजीआईएमईआर अस्पतालका प्रवक्ता अशोक कुमारले बताएका छन् । उनका अनुसार मिल्खा सिंहको निधन शुक्रबार राति ११ः३० बजे भएको हो ।

२० मे मा कोभिड संक्रमण भएका सिंह स्वास्थ्यमा समस्या आएपछि ३ जुनमा अस्पताल भर्ना भएका थिए । १३ जुनसम्म आईसीयूमा राखेपछि उनको कोभिड रिपोर्ट नेगेटिभ आएको अस्पताललाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

कोभिड रिपोर्ट नेगेटिभ भए पनि स्वास्थ्यमा सुधार नआएपछि सिंहलाई आईसीयूबाट निकालिएको थिएन । पाँच दिन अघि मिल्खाकी श्रीमती निर्मल मिल्खा सिंहको निधन पनि कोभिड संक्रमणबाटै भएको थियो ।

फ्लाइङ सिख नामबाट चर्चित मिल्खा सिंह ४ सय मिटर दौडमा एसियाली र कमनवेल्थ खेलमा स्वर्णपदक जित्ने एकमात्र भारतीय हुन् । उनको जीवनीको विषयमा ‘भाग मिल्खा भाग’ नामक फिल्मसमेत बनेको छ ।

सम्बन्धित समाचार