बालेनलाई शंकर पोखरेलको जवाफ- परियोजनाको महत्त्व नबुझ्नेले आलोचना गर्नु स्वाभाविक हो

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले धरहराको निःशुल्क पार्किङ रोक्न पत्राचार गरिएकोमा असन्तुष्टि जनाउँदै एमाले अध्यक्ष केपी ओलीलाई पत्र लेख्न भनेपछि एमाले महासचिव शंकर पोखरेलले त्यसको जवाफ फर्काएका छन् ।

धरहरा निर्माण परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक रहेको महासचिव पोखरेलको भनाइ छ । बालेनप्रति लक्षित गर्दै महासचिव पोखरेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो ।’

महासचिव पोखरेलले धरहरा निर्माण पहिले नै सम्पन्न भइसकेको बताएका छन् । निर्माण सकिएको धरहरा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनसमेत गरेको उनको भनाइ छ ।

धरहरा पुनर्निर्माण परियोजनालाई पाँच भागमा बाँडेर काम गरिएको उनले बताएका छन् ।

‘तत्कालीन प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो । जसको निर्माण कार्य सम्पन्न भइसकेको छ,’ महासचिव पोखरेलले लेखेका छन्, ‘अरू परियोजनाको काम सरकार परिवर्तनका कारण बिलम्ब भएको छ तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ ।’

काठमाडौं महानगरले धरहरामा निःशुल्क पार्किङ सुरु गरेको थियो । तर, शहरी विकास मन्त्रालयअन्तर्गतको कार्यालयले निर्माण नसकिएको भन्दै तत्काल पार्किङ रोक्न महानगरलाई पत्राचार गरेको थियो । निर्माण सम्पन्न नहुँदै सर्वसाधारणलाई पार्किङ गर्न दिँदा त्यसले दुर्घटना निम्त्याउनेमा पनि महानगरलाई सचेत गराइएको थियो ।

उक्त पत्रपछि आक्रोशित बालेनले सोमबार फेसबुकमा निर्माण नसकिँदै तत्कालीन प्रधानमन्त्रीले किन उद्घाटन गरेको भन्दै प्रश्न उठाएका थिए । उनले आफूलाई नभएर निर्माण नसकिँदै उद्घाटन गर्ने तत्कालीन प्रधानमन्त्रीलाई पत्राचार गर्न सुझावसमेत दिएका थिए । उनले उक्त स्थानमा पार्किङ नरोकिने बरु व्यवस्थित गर्दै लगिनेसमेत उल्लेख गरेका थिए ।